समाचार

देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छः प्रधानमन्त्री ओली

१४ साउन, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने बताएका छन् ।

विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘बालबालिकासँग बाघ संवाद’ गर्दै प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारीका लागि प्रतिबन्ध लगाइएको स्मरण गराउर्दै सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताए । “देशको क्षमताभन्दा बढी बाघको सङ्ख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघको सङ्ख्यामात्रै वृद्धि गर्दा मानवीय विनाश निम्त्याउन सक्नेतर्फ पनि सचेत रहनुपर्नेछ । यस्तो अवस्था आउन दिनु हुँदैन”, उनले भने, “प्रकृतिमा धेरै जीव तथा वन्यजन्तु छन्, उनीहरूका लागि सहज बासस्थान चाहिन्छ, उनीहरूसँग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन । मानिसले सचेत भएर द्वन्द्वको परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ ।”

कार्यक्रममा लिटिल एञ्जलसहित विभिन्न पाँच विद्यालयका बालबालिकाले राखेको प्रश्नको जवाफ दिर्दै प्रधानमन्त्री ओलीले मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताए । उनले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएकाले अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए। वन्यजन्तुको संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

विसं २०७३ मा आफू प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरको सूर्यविनायकस्थित प्राणी उद्यानको निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानो भएकाले अन्यत्र पनि चिडियाखाना स्थापनागरी वर्गीकरणका आधारमा वन्यजन्तुलाई संरक्षण गर्न पहल गरिने जानकारी गराए।

तपाईंलाई प्रकृतिसँग प्रेम गर्न के कुराले प्रेरित गर्यो भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, “प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानो हुँदा गोठालो लाग्ने गरेकाले गाईभैँसी चराउन जङ्गलमा जाँदा प्रकृतिसँग रमाउन थालेँ, त्यसैबेला मैले बाघ पनि देखेँ, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खोलानाला, जीवजन्तु, चराचुरुङ्गी सबैसँग प्रेम हुन थाल्यो ।”