समाचार

कृषि उत्पादन वृद्धि गर्नुपर्छ : पूर्वमन्त्री डा महत

१८ भदौ, मोरङ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।

बिपी चिन्तन प्रतिष्ठान कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘नेपालमा कृषि क्रन्ति सम्भावना र चनौती’ विषयक विचार गोष्ठीको उद्घाटन गर्दै उनले कृषिमा आश्रित दुई तिहाइ जनतालाई उद्योग, व्यवसायमा वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री डा महतले विदेशबाट शीप सिकेर फर्केका युवालाई तराई पहाडमा सामूहिक खेतीमार्फत उत्पादनको आधारमा अनुदान उपलब्ध गराउनुपर्ने सुझाव दिए। उाले कृषिमा आत्मनिर्भर हुन स्वदेशी किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै कृषि उत्पादनमा अतिरिक्त भन्सार महसुल लगाउनुपर्ने आवश्यकता औंल्याए।

फरक प्रसङ्गमा नेकां प्रवक्ता डा महतले राजनीतिक स्थायित्व कायम राख्न अहिलेको समानुपातिक प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचनमा लग्नेगरी संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य भीम पराजुली र डोल्मा तामाङले तीन तहको सरकारले पालिकास्तरमा शीतभण्डार निर्माण गरेमा कृषकले कृषि उत्पादन बृद्धि गर्नुका साथै कृषिउपजको उचित मूल्य पाउने विचार राखे ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष अनिलकृष्ण प्रसाईं, सहअध्यक्ष पुष्पराज पराजुली, नेकां प्रदेश सहमहामन्त्री प्रमिला गच्छदारलगायतले कृषकलाई कृषि उत्पादन प्रशोधनमा विद्युत्मा छुट दिनुपर्ने सुझाव दिएका छन् ।