२ असोज, काठमाडौँ । भदौ मसान्तसम्म मतदाता नामावली दर्ता गराएका र आगामी मंसिर १५ गतेभित्र १८ वर्ष पूरा हुने मतदाताहरूले उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ । निर्वाचन आयोगले बुधबार उपनिर्वाचनका लागि मतदाताको उमेर अठार वर्ष पुग्ने मिति र मतदाता नामावली अद्यावधिक गर्नेबारे निर्णय लिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार भदौ मसान्तसम्म नागरिकता पाएर मतदाता नामावलीमा नाम दर्ता भइसकेका र आगामी मंसिर १५ गतेसम्ममा १८ वर्ष पूरा भएकाहरूले उपनिर्वाचनमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको हो । हाल जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता पाउनेबित्तिकै मतदाता नामावली समेत दर्ता गर्ने चलन छ । १६ वर्षमै नागरिकता पाउने व्यवस्था भएपनि मतदानको अधिकार भने १८ वर्ष पुगेपछि मात्रै पाउने कानूनी व्यवस्था छ ।
आयोगले उपनिर्वाचनका लागि मंसिर १५ गते १८ वर्ष पूरा हुने मतदाताको नामावली असोज १८ गते वेबसाइटमा प्रकाशन गर्ने र त्यही दिनदेखि असोज ३० गतेसम्म मतदाताले नामावलीमा त्रुटि रहेमा सच्याउन सक्ने जनाएको छ ।





