३ कात्तिक, काठमाडौँ । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्। शुक्रबार काठमाडौंमा पक्राउ गरेर शनिबार पोखरा ल्याइएको हो।
सभापति पक्राउ परेपछि शनिबार रास्वपाका शीर्ष नेताहरु यति बेला पोखरामा छन्। आज दिउँसो १ बजे पोखराको मानवअधिकार चोकमा रास्वपा सभापति पक्राउको विरोधमा सभा हुने कार्यक्रम छ। यसका गि देशमा विभिन्न स्थानबाट समेत रास्वपा कार्यकर्ता पोखरा आएका छन्।
मानव अधिकार चोकमा भेला भएका कार्यकर्ताहरुले बिहानै देखि पक्राउको विरोध गरेका छन्। लामिछानेलाई शनिबार पोखरा ल्याए लगतै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्य परीक्षण पछि लामिछानेलाई करिब पौने तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको हो।
लामिछानेलाई सडक मार्ग हुँदै पोखरा ल्याइएको छ। पोखरा ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले पृथ्वीराजमार्गको ठाउँ ठाउँमा भेला भएर नराबाजी गरेका थिए। पोखरा ल्याएपछि पनि जिल्ला प्रहरी कार्यालय अघि रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए।





