समाचार

१८ वर्ष मुनिका प्रयोगकर्ताले अब टिकटकमा ब्युटी फिल्टर प्रयोग गर्न नपाउने

३० मङ्सिर, काठमाडौँ । टिकटकले १८ वर्ष मुनिका प्रयोगकर्तालाई ब्युटी फिल्टर प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । अनलाइन ब्युटी फिल्टरहरूको प्रयोगले आत्मसम्मान घट्दै गएको र मानसिक स्वास्थ्यमा असर बढ्दै गएको भन्दै टिकटकले ब्युटी फिल्टरहरूमा कडा प्रतिबन्ध लगाउन लागेको हो ।

टिकटकको प्रेस विज्ञप्ति अनुसार पहिलो चरणमा आउँदो सातादेखि युरोपका प्रयोगकर्तामाझ यो नियम लागू हुनेछ । यसपछि आँखा ठूलो देखाउने, ओठ मोटो बनाउने, छालाको रङ मुलायम बनाउने जस्ता ब्युटी फिल्टर किशोरीहरूले प्रयोग गर्न सक्ने छैनन् । वास्तविक मेकअपबाट नभई कृत्रिम तरिकाको मेकअपबाट हुने परिवर्तन रोक्न यस्तो कदम चालेको टिकटकले ​जनाएको छ ।

आउँदा दिनमा सो उमेरका केटाकेटीले आफ्ना भिडियोमा आँखा ठूला बनाउने, ओठको मोटाइ बढाउने, छाला चिल्लो देखाउने, छालाको रङ बदल्नेजस्ता ब्युटी फिल्टर प्रयोग गर्न पाउने छैनन् । एपभित्रको ‘बोल्ड ग्ल्यामर’ जस्तो अनुहारको विशेषता नै फेरबदल गरिदिनसक्ने चर्चित फिचर यो समूहका लागि उपलब्ध हुने छैन ।