२५ माघ, नवलपरासी । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन्।
नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा आयोजित आठौँ नवलपुर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा आएको शिथिलतालाई सुधार गर्न सरकारले काम गरिरहेको बताएका हुन् ।
नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई कसरी वृद्धि गर्ने, स्रोत र सम्भावनालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारका गतिविधि केन्द्रित रहेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले भने, “रोजगारीका सम्भावना, साना, लघु, घरेलु उद्योगलाई अगाडि बढाउँदै उद्यमशीलता विकास गर्न सकेनौँ भने हाम्रो अर्थतन्त्र उठ्न सक्दैन, त्यसैले हाम्रा उद्योग, उत्पादन र व्यावसायिकतालाई अगाडि बढाउने विषयलाई केन्द्र भागमा राखेर सरकारले आफ्नो गतिविधि बढाएको छ ।”
वित्तीय क्षेत्रमा ब्याजदर एक अङ्कमा झरेका बेलामा लगानी प्रवर्द्धन हुन नसकेको भन्दै सरकारले द्रुतमार्गबाट केही कानुनहरू संशोधन गर्न लागेको उहाँले जानकारी दिए । उनले धौवादी फलाम खानी राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।





