समाचार

देशमा आउने सङ्कट सामना गर्ने सामथ्र्य हुनुपर्छ : अध्यक्ष विजुक्छेँ

२५ माघ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ रोहितले देशमा आउने जुनुसुकै सङ्कटबाट भाग्ने होइन कि डटेर सामना गर्ने सामथ्र्य राजनीतिक कार्यकर्तामा हुनुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसियशन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै उनले देशका नयाँ पुस्तालाई देशभक्तिको भावनाबाट सधैँ प्रेरित गर्दै सङ्कटमा डटेर सामना गर्ने सामथ्र्यवान बनाउनुपर्ने बताए ।

अध्यक्ष विजुक्छेँले अवकाश प्राप्त कर्मचारी राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउँदै अवकाश प्राप्त कर्मचारीको ज्ञान, सीप र अनुभव उपयोग गर्ने योजना सरकारले ल्याउनुपर्ने बताए । भक्तपुर नपाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलोचाँडो मूर्तरूप लिने विश्वास व्यक्त गर्दै उनले ख्वप विश्वविद्यालय सञ्चालन नेपालको शैक्षिक क्षेत्रको विकासमा एउटा नवीनतम अभ्यासको रूपमा रहने बताए ।

उनले त्यसअवसरमा भक्तपुर नगरपालिकामा ३० वर्षभन्दा बढी सेवा गरी विसं २०८१ माघ २५ गतेभित्र अनिवार्य अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई अहिले आफ्नो मातहतको एकाइ झै व्यवहार गर्न नछाडेको भन्दै स्वायत्तताको नाममा स्थानीय तहमाथि सङ्घ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या भएको बताए ।