समाचार

एकै प्रकृतिको मुद्दामा छविलाई जेल रविलाई धरौटी ?

२९ माघ, काठमाडौँ । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा कारागार पठाइएको हो।

हिजो सोमबार न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए । उनी विरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ ।

तर एकै प्रकृतिको मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई भने सोही अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । लामिछाने कास्की,काठमाडौँ,रुपन्देही र चितवन जिल्ला अदालतमा धरौटी बापत मोटो रकम तिरेर रिहाइ भएका थिए। 

सुप्रिम सहकारी ठगीमा मुद्दामा लामिछानेलाई भने न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले धरौटीमा छोड्ने आदेश गरेको थियो । अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा ‘लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी धरौटीमा छोड्ने आदेश दिएको थियो ।