२१ जेठ, रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार बिहान भएको दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको हो। दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पिकअप गाडी सडकबाट करिब ४०० देखि ५०० मिटर तल खसेको थियो। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठले दुर्घटनामा संलग्न गाडीको नम्बरसमेत हालसम्म खुल्न नसकेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





