समाचार

जडिबुटी केन्द्र छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको छ : मन्त्री शाही

२१ चैत, काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही चैत १५ गते आन्दोलनका क्रममा जलाइएको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् । उनका साथमा काठमाडौँ क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य सोविता गौतमसमेत रहेका थिए ।

मन्त्री ठकुरी र सांसद गौतमले जडिबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका हुन् । यही चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको हो । त्यहाँ रहेका सवारीसाधन जलाइएको थियो भने करोडौँको रुपैयाँ बराबरको क्षति भएको छ ।

सो अवसरमा प्रशोधन केन्द्रका महाप्रबन्धक सङ्गीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे उनीहरुलाई जानकारी गराएका थिए ।

निरीक्षणपछि मन्त्री शाहीले छिटोभन्दा छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको बताए । “प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौँ । रु १० करोड बजेट भए अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ । यसबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । चाँडै रकम उपलब्ध हुन्छ”, उनले भने।

क्षतिबारे सहरी विभागले मूल्याङ्कन गरिरहेको र चाँडै पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने मन्त्री शाहीको भनाइ थियो । “उत्पादन बढाउने र रोजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुनःसुरु गर्छौँ”, उनले भने ।