समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

६ साउन, काठमाडौं । आज सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आज कार्यसूची अनुसार बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।