राजनीति

नेपाल र थाइल्याण्डबीच कैयौं साँस्कृतिक समानता भएको परराष्ट्रमन्त्री देउवाको तर्क

९ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डकाबीचमा कैयौं साँस्कृतिक समानताहरू रहेको उल्लेख गरेकी छन् ।

काठमाडौंमा शुक्रबार आयोजित ‘थाइ फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा साँस्कृतिक लगायत अधिकांश क्षेत्रमा समानता रहेको उनको भनाइ थियो । मन्त्री राणाले दुई देशकाबीचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसाँस्कृतिक मूल्यमान्यताहरूको सम्मान, सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समिृद्धि लगायत समानताहरू रहेका चर्चा गरेकी छन्।

पर्यटन दुई देशकाबीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरेकी हुन् । नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायत कैयौं वस्तुको उत्पादन विश्वबजारको आकर्षण पनि बनेको बताउदै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह समेत गरेकी छन् ।

उनले नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेको प्रसंग उल्लेख गरेकी हुन् । मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझदारी भएका स्मरण गरेकी छन् । सोही भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको उनको भनाइ थियो । आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ ।

नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटद्वारा सो फेयरको आयोजना गरिएको पनि उनले बताएकी हुन् ।