१३ साउन, काठमाडौं । देशका विभिन्न भागबाट गत २४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा र सुनसरी रमकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई,भद्रपुर नगरपालिका–५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई, कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट दुई र धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक, ललितपुर, महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट दुई, पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट एक र स्याङ्जा, गल्याङ नगरपालिका–१ राम्दिबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको हो ।
त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ आदामारबाट एक जना पक्राउ परेका समाचारकक्षको मंगलबार दिउँसोको समाचार बुलेटिनमा उल्लेख गरिएको छ।





