१३ साउन, एजेन्सी । मध्य नुसिरात जिल्लामा इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित ३० प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
नागरिक रक्षाका प्रवक्ता महमुद बासलले सोही आक्रमण सोमबार रातिदेखि मंगलबार बिहानसम्म भएको र नुसिरात शरणार्थी शिविरमा अधिकांश नागरिकको घरलाई लक्षित गरिएको बताएका हुन् । स्थानीय अल–अवदा अस्पतालमा ‘१४ महिला र १२ बालबालिकासहित ३० जना शहीदको शव’ प्राप्त भएको छ । इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । इजरायली सेनाले करिब २२ महिनादेखि गाजा पट्टीमा लडाकू समूह हमासविरुद्ध कारबाही गरिरहेको छ ।
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले गरेको रक्तपातपूर्ण आक्रमणबाट शुरु भएको इजरायली आक्रमणबाट गाजामा ५९ हजार ९ सय भन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सप्ताहन्तमा अन्तर्राष्ट्रिय रायको दवावमा यस क्षेत्रको अनिकालको समाधान गर्न इजरायलले सहायता वितरण गर्न अनुमति दिन आइतबारदेखि शुरु भएको ‘रणनीतिक विराम’ को एक शृङ्खला घोषणा गरेको थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका अनुसार सैन्य कारबाहीमा विरामले हरेक दिन बिहान १० बजे (०७०० जिएमटी) देखि साँझ ८ बजेसम्म ‘ठूलो जनसङ्ख्या भएका क्षेत्रहरू’ समेट्ने छ । निर्धारित सहायताका सवारी मार्गहरू बिहान ६ देखि राति ११ बजे सम्म सुरक्षित रहने नेतान्याहुको कार्यालयले जनाएको छ । तर, रातभरी आक्रमण जारी रहने छ ।
प्यालेस्टिनी क्षेत्रहरूमा नागरिक मामिलाका प्रभारी इजरायली रक्षा मन्त्रालयको निकाय कोगाटले सोमबार संयुक्त राष्ट्रसंघ र सहायता एजेन्सीहरूले २ सय ट्रक भन्दा बढी सहायता वितरण गरेको छ । अन्य २ सय ६० ट्रकलाई सङ्कलन विन्दुहरूमा सहायता जम्मा गर्न गाजामा प्रवेश गर्न अनुमति दिइएको थियो ।
संयुक्त राष्ट्रसंका ४ ट्यांकर जोर्डन र एमिराटी विमानहरूबाट सहायताका २० प्यालेट खसालिएको कोगाटले जनाएको छ ।





