१४ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपालमै पहिलो पटक पीओएस मेसिन मार्फत भुक्तानी गर्दा तत्काल ईएमआई सुविधा ल्याएको छ ।
ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै बैंकले एनआईएमबी पीओएस मेसिनमार्फत भुक्तानी गर्दा तत्काईएमआई सुविधा शुरु गरेको हो । अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा एनआईएमबी पीओएस मेसिन मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी ईएमआई सुविधा प्रयोग गर्न सक्ने भएका छन्।
यो सुविधा ग्राहक वर्गहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली भएको बैंकले जनाएको हो । जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटबिनै तुरुन्तै उपलब्ध हुने समेत दावी गरिएको छ ।
बैंकले तत्काल ईएमआई सुविधा शुरु गर्नुको मुख्य उद्देश्य ग्राहक वर्गहरूलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउनु रहेको जनाएको हो । सोही सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट र यात्रा जस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहक वर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्ने भएको हो ।
सरल प्रक्रिया मार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ । बैंकले हाल २ सय ७५ शाखा, २ सय ६५ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको जनाएको हो ।





