१४ साउन, गण्डकी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालले अन्तर्राष्ट्रिय जगत्मा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताएकी छन् ।
नेपाल तरुण दल कास्कीले बुधबार पोखरामा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति, जलवायु परिवर्तन एवं तरुण युवाहरुको सरोकार विषयक संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नेपाललाई जलवायुजन्य हानि नोक्सानी सम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने उनको जोड छ ।
सोही विषयमा हालै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा समेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नुपरिरहेको बताएकी हुन् ।
उनले भनेकी छन्,-‘हामीलाई हानिनोक्सानी कोष दिनुपर्ने, बाढीपहिरोले भत्केका पुल, विद्यालयजस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौं । नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ । अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्छ ।’
उनले जलवायु परिवर्तनले ठूलो चुनौती निम्ताएको जनाउँदै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरको बारेमा जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ थियो। जलवायु परिवर्तनको असरबाट आउने पिँढीलाई बचाउन वृक्षरोपण गर्नुपर्ने, प्लाष्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनले बताएकी छन् ।
मन्त्री देउवाले नेपाल भूराजीतिक हिसाबले संवेदनशील र रणनीतिक महत्वको भूगोलमा रहेको समेत बताएकी हुन् । स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता विश्वमाझ स्थापित बनेको उनको भनाइ छ ।
सोही कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले तरुण दलका सबै तहका अधिवेशन समयमा सम्पन्न गर्न आग्रह गरेका थिए । उनले सरकार गठनका बेला कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सम्झौता कार्यान्वयनमा जोड दिएका छन् ।
त्यस्तै, नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले विपदको समयमा राहत तथा उद्धारमा खट्न तरुण दलका सदस्यलाई आग्रह गरेका थिए ।





