१६ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन् । ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताए ।
“जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनुभएको छ”, उनले भने ।
महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताए । उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । उनले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राखे ।
महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पेसागत महासङ्घ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा लछी सिंहसहित मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेतलाई पार्टीमा प्रवेश गराएका थिए ।
नेकपा एमालेका सम्मानितनेता झलनाथ खनालले एमाले फुटाएर आफुहरुले गल्ती गरेको भनेर दिएको अभिब्यक्तीलाई संकेत गर्दै महासचिव शंकर पोख्रेलले प्रतिकृया दिएका हुन् ।





