प्रदेश 1

पाँचथरमा ६ दिनदेखि बेपत्ता भएका दाजु-बहिनी मृत अवस्थामा फेला

२० साउन, पाँचथर । पाँचथरमा ६ दिनदेखि बेपत्ता भएका नाबालक दाजु र बहिनी मृत अवस्थामा फेला परेका छन् ।

याङवरक गाउँपालिका–१ बिरुवाका दाजु र बहिनी यहि साउन १५ गते बिहानदेखि हराइरहेका थिए । बिरुवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राईको शव मंगलबार बिहान बिरुवा खोलामा फेला परेको हो ।

उनीहरुको शव खोलाको किनारामा करिब २ सय मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए। ६ दिनदेखि बेपत्ता दाजुबहिनीको खोजी भइरहेको थियो । बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली सोमबार च्याङथापू पुगेको थियो ।

मृतक दाजु शिशिर कक्षा ४ र बहिनी कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययन थिए। परिवारले ढिलो खबर गरेका कारण उनीहरुको खोजी २४ घण्टापछि मात्रै शुरु भएको थियो। वडाध्यक्ष राईले साउन १५ गते बिहान करिब ६ बजे बाबु बिर्खबहादुरले छोराछोरीलाई हजुर आमाको गएर खाना खाएर विद्यालय जानु भनेर पठाएका थिए । यता हजुरबुबा–हजुरआमा भने नातिनातिनी बाबुका साथ रहेको विश्वासमा दिनभरि आफ्नै काममा व्यस्त रहेका थिए ।

सधैँ घर आउने नातिनातिनी नआएपछि साँझ करिब ७ बजे बाजे सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरेर सोधेका थिए। दुवै घरमा नानीहरु नभएपछि साउन १६ गते बिहानदेखि खोजी थालिएको वडाध्यक्ष राईको भनाइ छ । मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेकी छन् । 

जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् । बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उनले बताए ।