समाचार

रक्षाबन्धन पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछः पूर्वराष्ट्रपति भण्डारी

२४ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन् ।

भण्डारीले शनिबार सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको सम्पूर्णमा शुभकामना व्यक्त समेत गरेकी हुन् । रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने उनको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्व हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने गरेको उल्लेख गरेकी छन् ।

सोही दिन ९ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्ने समेत उनको धारणा थियो । जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्याउने पूर्वराष्ट्रपति भण्डारीले विश्वास लिएकी छन् ।