समाचार

बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२७ साउन, बैतडी । बैतडीमा रहेको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती भएको छ ।

४ दशकअघि निर्माण भएको उक्त कारागार जीर्ण बनेको छ । जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपिएको कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताएका हुन् । “यो २५ जना क्षमताको बन्दीगृह हो । तर अहिले ६३ जनालाई राखिएको छ । बन्दीगृहमा ५३ कैदीबन्दी र १० जना थुनुवा छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुरक्षासहित उचित व्यवस्थापन गर्न समस्या हुने गरेको छ”, उनले भने । दशकौँ पुरानो कारागार जीर्ण बनेको बताउँदै भण्डारीले महिला कैदीबन्दी राख्ने ठाउँ नभएपछि महिला बन्दीलाई डडेल्धुरा पठाउने गरिएको जानकारी दिएका छन् । खाटमाथि खाट राखेर बन्दीको बसाइँ व्यवस्थापन गरिएको उनको भनाइ छ ।

प्रमुख भण्डारीले भने, “जस्तापाताले छाएको जीर्ण भवनमा वर्षात्को समयमा पानी चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या छ । यसका साथै खानेपानी आपूर्ति र सरुवा रोगको पनि जोखिम छ ।” विसं २०४० मा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दासमेत नयाँ भवन बन्न सकेको छैन । उनका अनुसार चालु आवदेखि नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले आगामी असोज–कात्तिकदेखि काम सुरु हुने भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत रु १० करोडको लागतमा भवन निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । साथै खानेपानी आयोजनाका लागि प्रदेश सरकारले १० लाख विनियोजन गरेको प्रमुख भण्डारीले बताएका छन् ।