समाज

सुरक्षाकर्मीको पेस्तोल लुटपाट गर्ने पाँच जना पक्राउ

१४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटपाट गरी बिक्रीमा संलग्न पाँच जना युवाहरू प्रहरीको फन्दामा परेका छन्।

प्रहरी वृत्त स्वयम्भूले विभिन्न स्थानमा लुकेर बसेका उनीहरूलाई सघन खोजीपछि नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ लुटपाटमा प्रत्यक्ष संलग्न रहेको खुलेको छ।

उनको साथमा कारोबारमा जोडिएका काठमाडौं–१५ का २५ वर्षीय राजन देउला, भारत सितामढीका २४ वर्षीय अकबर खान, बिजेश्वरीका २६ वर्षीय सुमिन शाक्य र नयाँ बानेश्वरका ३८ वर्षीय प्रभात मल्ल पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मल्लले लुटिएको पेस्तोल खरिद गरेका थिए।

प्रहरीले उनीहरूबाट एक थान पेस्तोल, म्यागजिन र १५ राउण्ड गोली बरामद गरेको छ। हाल उनीहरूलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतको आदेश अनुसार ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।