प्रदेश 2

सभामुख मण्डलविरुद्ध प्रस्ताव: मधेश प्रदेशसभा आज बस्दै

३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदको आचरण विपरीत व्यवहार गरेको आरोपमा दर्ता गरिएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो।

बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यहरूलाई सचिवालयले सामाजिक सञ्जाल समूहमार्फत जानकारी गराइएको छ। कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना सांसदले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गराएका थिए। कानुनअनुसार यस्तो प्रस्ताव एक साताभित्र सदनमा छलफल गर्नुपर्ने व्यवस्था छ।

उपसभामुख बबिता राउत ईशरको निर्देशनमा आजको बैठक बोलाइएको हो। सात दलीय गठबन्धनका ३२ सांसदले मंगलबार नै उपसभामुखलाई ज्ञापन बुझाउँदै बैठक आह्वान गर्न आग्रह गरेका थिए।