१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै चालु खर्चभन्दा विकास निर्माणलाई प्राथमिकता दिइएको बताए।
बजेटअनुसार चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५.५४ प्रतिशत विनियोजन गरिएको छ। यस्तै, पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् ६४.३५ प्रतिशत बजेट छुट्याइएको छ।
प्रदेश सरकारले पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार तथा जनमुखी कार्यक्रमलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको जनाएको छ। बजेटमाथि अब प्रदेश सभामा छलफल हुने छ।





