२१ असार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहामा आइतबार दिउँसो एक दुःखद घटना भएको छ। कुलोमा लडेर करिब १०० मिटर तल बगेका एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ सिरानटोल निवासी ६८ वर्षीय वीरबहादुर सुनार रहेका छन्।
प्राप्त जानकारी अनुसार आइतबार करिब साढे १२ बजे उनी बाटोमा हिँडिरहेका बेला अचानक लडेर बडिगाड लघुविद्युत् समुदायको ड्यामबाट बग्ने कुलोमा खसेका थिए। कुलोसँगै बग्दै उनी करिब १०० मिटर तल रहेको पानी ट्यांकीसम्म पुगेका थिए।
स्थानीय बासिन्दाले दिउँसो करिब साढे २ बजे ट्यांकीमा शव अड्किएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनापछि प्रहरी टोली जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा घटनास्थल पुगेको थियो।
स्थानीयका अनुसार मृतकले मदिरा सेवन गरेको हुन सक्ने आशंका गरिएको छ, जसका कारण सन्तुलन गुमाएर कुलोमा खसेको हुन सक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





