८ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई महत्वपूर्ण ‘डर्बी’ खेलहरू निर्धारित छन् । पूर्व तथा पश्चिमका दुई/दुई क्षेत्रमा आधारित टोली आमनेसामने हुने भएकाले आजको दिनलाई ‘डर्बी डे’का रूपमा चिनिएको छ ।
पहिलो खेल विहान पौने १२ बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ । विराटनगरले हालसम्म खेलेका दुवै खेलमा विजय हासिल गरेको छ र लगातार तेस्रो जितको लक्ष्यसहित मैदान प्रवेश गर्नेछ । पहिलो खेलमा पराजित जनकपुर आजको दोस्रो खेलमार्फत जितका लागि दबाबमा रहनेछ । गत संस्करणमा यी दुई टोली उद्घाटन खेलमै भिडेका थिए, जसमा जनकपुर ८ विकेटले विजयी भएको थियो ।
दोस्रो खेल अपरान्ह ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । कर्णालीले २ खेलमा १ जित र १ हारको नतिजा ल्याएको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित अवस्थामा छ । पहिलो संस्करणमा भएको एकमात्र भेटमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।
यसअघि सम्पन्न ८ खेलपछि अंकतालिकामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स समान ४–४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । नेटरनरेटका आधारमा सुदूरपश्चिम अग्रस्थानमा रहेको छ ।
कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले २ खेलमा १ जित र १ हार बटुलेका छन् र क्रमशः तेस्रोदेखि छैटौं स्थानमा छन् ।
जनकपुर बोल्ट्स एक खेलमै पराजित भएपछि सातौं स्थानमा छ भने २ खेलमा हार व्यहोरेको पोखरा एभेन्जर्स आठौं स्थानमा रहेको छ ।
आजका दुवै डर्बी खेलहरूले अंकतालिकामा महत्वपूर्ण फेरबदल ल्याउने अपेक्षा गरिएको छ ।





