१४ मङ्सिर, काठमाडौँ । ‘दितवा’ नामको शक्तिशाली तूफानसँगै परेको मुसलधारे वर्षाले श्रीलंकामा भयावह बाढी पहिरो उत्पन्न गरी देशभर कहालीलाग्दो स्थिति रहेको छ। यस प्राकृतित विपत्तिले हालसम्म कम्तीमा १३२ जनाको ज्यान लिएको छ भने १७६ जना अझै बेपत्ता रहेका श्रीलंकाली अधिकारीहरूले बताएका छन्।
राष्ट्रपति अनुरा कुमारा दिशानायकेले देशभर आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोगको अपिल गरेका छन्। विदेशमा रहेका श्रीलंकाली नागरिकलाई पनि सकेसम्म देशमा पैसा पठाउन आग्रह गरिएको छ।
यो पछिल्ला ८ वर्षकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति रहेको बताइएको छ। सन् २०१७ मा आएको बाढी–पहिरोमा २०० जनाको मृत्यु भएकामा यसपटक व्यापक भौतिक र मानवीय क्षति भएको अधिकारीहरूको भनाइ छ।
विपद् व्यवस्थापन विभागका अनुसार १५ हजारभन्दा धेरै घर पूर्ण रूपमा नष्ट भएका छन्। ७८ हजारभन्दा बढी नागरिकलाई विभिन्न अस्थायी शिविरमा बस्न बाध्य भएको छ। सेना, वायुसेना र नौसेना परिचालन गरी राहत तथा उद्धार कार्य जारी छ।
मध्य श्रीलंकाको बादुल्ला जिल्ला सबसे बढी प्रभावितमध्ये एक हो, जहाँ सडक सम्पर्क टुटेपछि राहत पुर्याउन ठूलो चुनौती परेको छ। मास्पान्ना गाउँका बासिन्दाहरू भन्छन् । “सडक भत्किएर बन्द छन्, न हामी बाहिर जान सक्छौं, न कोही यहाँ आउन सक्छ। खाना र पिउने पानी दुबै छ।”
विपत्तिपछि देशको एक तिहाइ भूभागमा बिजुली र खानेपानी सेवा पूर्ण रूपमा बाधित भएको छ। विद्युत् लाइन बगाएको, पानी प्रशोधन केन्द्र डुबानमा परेका र धेरै स्थानमा इन्टरनेट समेत नचल्ने अवस्था छ।
यसबीच, श्रीलंकालाई सबैभन्दा पहिलो सहयोग भारतले पठाएको छ। दुई विमान राहत सामग्रीसहित कोलम्बो पुगेका छन् भने भारतीय नौसेनाको जहाजले खाद्यान्न वितरण सुरु गरिसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै थप सहयोगको आश्वासन दिएका छन्।
‘दितवा’ तूफान शनिबार श्रीलंका पार गर्दै भारततर्फ अघि बढिरहेको छ। चेन्नई विमानस्थलमा ५४ उडान रद्द गरिएको छ र भारतीय मौसम विभागले आगामी ४८ घण्टासम्म भीषण वर्षा र जोखिमपूर्ण मौसमको चेतावनी जारी गरेको छ।
श्रीलंका अहिले अव्यवस्था, अन्धकार र आक्रान्त अवस्थाबाट जुझिरहेको छ भने उद्धारकर्मीहरूले जीवनरक्षाका लागि समयसँगै दौडिरहेका छन्।





