समाचार

‘लैङ्गिक हिंसा कम गर्न सबैको सामूहिक प्रयास आवश्यक’

१४ मङ्सिर, काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधन गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा आइतबार प्रहरी हेडक्वार्टरमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको बताए ।

आईजीपी कार्कीले आर्थिक वर्ष २०८१÷०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण गरेका छन् । लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई कार्कीले पुरस्कार प्रदान गरे ।

आईजीपी कार्कीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरि उत्तिकै ऊर्जाका साथ सबै निकायले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

पछिल्लो समय एआईको विकास र प्रविधिको प्रयोगले हिंसा न्यूनीकरणमा थप चुनौती देखापरेको बताए । उनले भने– ‘नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षा प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।’

उनले लैङ्गिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिबद्ध रहन सकल दर्जालाई निर्देशन दिएका छन् ।