समाचार

लेखकको सर्वोच्चमा जवाफ: ‘घटनाको कारण घुसपैठ, मेरो संलग्नता शून्य’

२५ मंसिर, काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनमा २१ जनाको ज्यान जानेगरी भएको गोलीकाण्डबारे पूर्वगृहमन्त्री रमेश लेखकले आफू जिम्मेवार नभएको दाबी गरेका छन्। दमनमा संलग्नलाई कारबाही माग गर्दै दायर रिटमा उनले लिखित जवाफ पठाउँदै घटना ‘विषम परिस्थितिको परिणाम’ मात्र भएको बताएका हुन्।

लेखकका अनुसार आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा बीच कुनै समूहले घुसपैठ गरी संसद् भवन क्षेत्र हिंसात्मक बनाएको र त्यही कारण बल प्रयोग हुन पुगेको हो। उनले आफूले हताहती हुन नदिन र कम बल प्रयोग गर्न निर्देशन दिएको दाबी पनि गरेका छन्।

२१ जनाको मृत्यु भएकामा गहिरो पीडा व्यक्त गर्दै लेखकले त्यही दिन नैतिकताका आधारमा राजीनामा दिएको बताउँदै भोलिपल्ट (भदौ २४) को घटनामा आफूलाई प्रश्न गर्न नपाइने उल्लेख गरेका छन्।

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको पदबारे सर्वोच्चले नै निर्णय गर्ने भएकोले आफू त्यसमा तटस्थ बसेको उनको भनाइ छ।