ब्रेकिङ न्युज

भ्रष्टाचार मुद्दापछि पासपोर्ट छपाइ रोकिँदा के हुन्छ अब ?

१० असार, काठमाडौं । राहदानी विभागमा मौज्दात रहेको पासपोर्ट पुस्तिका बढीमा एक महिनाका लागि मात्रै पर्याप्त हुने देखिएको छ। विभागसँग हाल करिब ६० हजार थान पासपोर्ट बाँकी रहेको र नयाँ आपूर्तिको प्रक्रिया अन्योलमा परेपछि सेवाग्राहीहरूमा चिन्ता बढ्न थालेको छ।

विभाग स्रोतका अनुसार दैनिक तीन हजारदेखि साढे तीन हजारसम्म पासपोर्टको माग भइरहेको छ। यही दरमा वितरण जारी रहे हालको मौज्दातले एक महिनाभन्दा बढी धान्न नसक्ने अवस्था रहेको बताइएको छ।

यसअघि पासपोर्ट छपाइको जिम्मा पाएका नयाँ ठेकेदार कम्पनीहरूले करिब २० दिनभित्र नयाँ पासपोर्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। तर उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि आपूर्ति प्रक्रिया अनिश्चित बनेको छ।

भ्रष्टाचार मुद्दापछि राहदानी विभागका उच्च अधिकारीहरू निलम्बनमा परेका छन्। यसले विभागीय कामकारबाही र आगामी व्यवस्थापनबारे थप अन्योल सिर्जना गरेको छ। विभाग र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि पासपोर्टको मौज्दात तथा नयाँ छपाइको अवस्थाबारे औपचारिक टिप्पणी गर्न चाहेका छैनन्।

विशेष अदालतमा दायर गरिएको मुद्दामा ठेकेदार कम्पनीहरूले मिलेमतोमा ठेक्का प्राप्त गरेको तथा तोकिएको मापदण्डभन्दा कम गुणस्तरका पासपोर्ट पुस्तिका आपूर्ति गर्ने योजना बनाएको आरोप लगाइएको छ। यही कारण ठेकेदारले पासपोर्ट उपलब्ध गराए पनि भुक्तानी प्रक्रिया जटिल बन्न सक्ने अवस्था देखिएको छ।

विभागका एक कर्मचारीका अनुसार हाल मौज्दात रहेको पासपोर्ट वितरणबाहेक अर्को स्पष्ट योजना छैन। स्टक सकिएपछि सेवाग्राहीलाई कसरी सेवा दिने भन्ने विषयमा समेत निश्चित निर्णय भइसकेको छैन।

यदि नयाँ पासपोर्ट आपूर्ति समयमै हुन नसके विदेश यात्रा, वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी बनाउने हजारौं नागरिक प्रभावित हुन सक्ने देखिन्छ।