२९ मंसिर, काठमाडौं । कात्तिक २०८२ मा नेपालमा मुद्रास्फीति १.११ प्रतिशतमा सीमित रहेको छ, जसमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.३२ प्रतिशतले ऋणात्मक देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६९ प्रतिशत रहेको छ।
अघिल्लो वर्ष सोही अवधिमा समग्र मुद्रास्फीति ५.६० प्रतिशत थियो भने खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत थियो। पछिल्लो चार महिनाको औसत मुद्रास्फीति १.५३ प्रतिशतमा सीमित छ, जुन अघिल्लो वर्षको ४.५० प्रतिशतभन्दा कम हो।
राष्ट्र बैंकका अनुसार तरकारीको मूल्य सबैभन्दा बढी घटेको छ, वार्षिक उपभोक्ता मूल्य सूचकांकमा १४.४३ प्रतिशतले गिरावट आएको छ। मरसमला ७.८५, दाल तथा गेडागुडी ५.३६ प्रतिशतले घटेका छन्। भने घिउ–तेल पदार्थ ५.२५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थ ३.६१ प्रतिशत र दुग्ध तथा अन्डा १.९७ प्रतिशतले बढेको छ।
गैरखाद्य वस्तु र सेवामा विविध वस्तु तथा सेवा १५.१७, शिक्षा ७.५६, कपडाजन्य तथा जुत्ताचप्पल ६.२९ र सुर्तीजन्य ४.८४ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा ०.२३ प्रतिशतले घटेको छ।
सहरी क्षेत्रमा मूल्यवृद्धि १.२६ प्रतिशत र ग्रामीण भेगमा ०.६६ प्रतिशत रहेको छ। प्रदेशगत मूल्यवृद्धि कोशी १.८०, मधेश १.७३, बागमती ०.८१, गण्डकी ०.३७, लुम्बिनी १.२७, कर्णाली १.०८ र सुदूरपश्चिम ०.२६ प्रतिशत रहेको छ। काठमाडौं १.१६, तराई १.२४, पहाड ०.८८ र हिमाल १.०६ प्रतिशतले बढेको छ।




