सुदूरपश्चिम

पश्चिम तराई चिसोको चपेटामा, तापक्रम सरदरभन्दा ९ डिग्रीले घट्यो

९ पुस, काठमाडौं । पछिल्ला केही दिनदेखि नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा चिसो अस्वाभाविक रूपमा बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले धनगढी, नेपालगन्ज लगायत क्षेत्रमा ‘चिसो दिन’ को अवस्था देखिएको हो ।

मौसमविद् सरोज पुडासैनीका अनुसार हिजो धनगढीको अधिकतम तापक्रम १३.१ डिग्री सेल्सियस मात्र रेकर्ड भयो, जुन यो समयको सरदर २२.३ डिग्री सेल्सियसभन्दा करिब ९ डिग्री कम हो । तापक्रममा आएको तीव्र गिरावटका कारण जनजीवन प्रभावित हुनुका साथै हवाई उडानसमेत प्रभावित भएको छ ।

नेपालगन्जमा पनि हिजो अधिकतम तापक्रम १३.१ डिग्री सेल्सियसमा झरेको छ, जबकि त्यहाँको सरदर तापक्रम २२.१ डिग्री सेल्सियस रहने गर्दछ । आज पनि ती क्षेत्रमा तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभरका तराई भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको जनाएको छ । तराई-मधेशका धेरै स्थानमा भिजिबिलिटी एक किलोमिटरभन्दा कम रहेको छ । पश्चिम तराईमा हिजो दिनभरि घाम लाग्न नसकेको र आज पनि अवस्था उस्तै रहने पूर्वानुमान गरिएको छ ।

तराईसँगै पहाडी क्षेत्रका खोँच, उपत्यका र नदी तटीय क्षेत्रमा पनि हुस्सु लागेको मौसमविद् पुडासैनीले जानकारी दिए । काठमाडौँ उपत्यकामा भने बिहान हल्का हुस्सु लागे पनि दिउँसो घाम लाग्ने अनुमान छ । आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण छ ।

विभागले तराई र मधेशका नागरिकलाई चिसोबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । आगामी केही दिनसम्म घाम नलाग्ने र हुस्सु लागिरहने सम्भावना रहेकाले स्वास्थ्य र यात्रामा ध्यान दिन मौसमविद्हरूले सुझाव दिएका छन् ।