२५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर क्षेत्रमा नयाँ भाले जंगली हात्ती देखिन थालेको छ। केन्द्रले उक्त हात्तीलाई ‘भीमगज’ नाम दिएको छ।
केन्द्र प्रमुख मनपुरन चौधरीका अनुसार करिब एक सातादेखि भीमगज प्रजनन् केन्द्र आसपास देखिँदै आएको छ। यसअघि नै केन्द्र वरपर डेरा जमाएर बसेको अर्को भाले हात्ती ‘रोनाल्डो’सँग भीमगजको प्रतिस्पर्धा देखिन थालेको छ। दुई भाले एकअर्कालाई धपाउने प्रयास गरिरहेको बताउँदै चौधरीले रोनाल्डो आकारमा ठूलो र बलियो भएकाले भीमगज केही सचेत देखिए पनि क्षेत्र नछोडेको जानकारी दिए।
करिब ५३ वर्ष उमेर पुगेको रोनाल्डोले अन्य भाले हात्तीलाई वरपर आउन नदिन खोज्ने गरेको केन्द्रको भनाइ छ। रोनाल्डो केही समय हराएर फर्किएपछि अर्का भाले गोविन्दे केन्द्र छाडेर गएको भए पनि भीमगज भने निरन्तर देखिन थालेको छ।
केन्द्रका अनुसार भीमगज र रोनाल्डो दुवैले कोशीकली नामक पोथी हात्तीसँग शारीरिक सम्पर्क गरेका छन्। भीमगजको उमेर करिब १७–१८ वर्ष अनुमान गरिएको छ। कम उमेरमै बलियो बन्दै गएको भीमगजले भविष्यमा अन्य भाले हात्तीहरूसँग कडा प्रतिस्पर्धा गर्न सक्ने आँकलन गरिएको छ।
भीमगज यसअघि पनि निकुञ्ज क्षेत्रमा देखिएको जनाउँदै केन्द्र प्रमुख चौधरीले गत वर्ष हात्तीले आक्रमण प्रयास गर्दा सुरक्षाका लागि हवाई फायर गर्नुपरेको स्मरण गरे। भीमपुर पोष्टसम्म लखेट्दै आएकाले त्यही घटनापछि हात्तीको नाम ‘भीमगज’ राखिएको उनले बताए।
हाल खोरसोरस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्रमा १० वटा हात्ती र ९ वटा साना–ठूला छावा रहेका छन्। यही केन्द्रमा हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई एक महिना अघि उपहारस्वरूप कतार पठाइएको थियो।





