समाचार

सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा

९ माघ, काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति गगन थापा पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्। पार्टी स्रोतका अनुसार, आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको नेतृत्वमा प्रधानमन्त्रीको उम्मेदवार चयनको औपचारिक निर्णय गर्ने छ।

पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूको ठूलो संख्यामा उपस्थिति रहेको छ। थापा गत पुस २७ देखि माघ १ गतेसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए।

उपसभापति भुसालका अनुसार, सभापति थापासहित अन्य पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्नेछ। बैठकपछि थापाले चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम तय गरेका छन्।

अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार बनेका छन्। उनले माघ ६ गते वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।