१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८५ वर्षमा पटक–पटक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र उस्तै रहेको टिप्पणी गरेका छन्। शहीद दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले राणाशासनविरुद्ध संघर्ष गरेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको बलिदान स्मरण गरे।
बालेनका अनुसार, राणाशासनको अन्त्य भए पनि राज्य जनताको बन्न नसक्दा नेपाली जनता निरन्तर संघर्षमा रहनुपर्यो। व्यवस्था बदलिँदै गए पनि सत्ताको सोच र व्यवहार नबदलिएपछि शहीदका सपना पूरा हुन सकेनन्। उनले भदौमा भएको जेन–जी आन्दोलनको उदाहरण दिँदै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा–विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनालाई पनि स्मरण गरे।
हाल आफूहरू शहीदका सपना साकार पार्ने दिशामा अघि बढेको दाबी गर्दै बालेनले लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने दायित्व आफ्नो काँधमा रहेको बताए। राज्यका निकायहरूमा बढेको दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
‘शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,’ उनले भनेका छन्, ‘अब समय आएको छ—शहीदको रगतलाई सम्मान गर्दै सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने।’ सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै उनले फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।





