सुदूरपश्चिम

बालेनको चुनावी प्रचारमा अछाम गएका एक व्यक्ति बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचार अभियानका क्रममा अछाम पुगेका एक व्यक्ति बेहोस भएका छन् । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि तत्काल उद्धार गरी काठमाडौं पठाइएको हो । अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सिटौलाको अवस्थालाई मध्यनजर गर्दै सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं,’ प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए ।

सिटौला काठमाडौंदेखि नै बालेनसँगै चुनावी प्रचार अभियानमा सहभागी हुँदै अछाम पुगेका थिए । हाल उनको थप उपचार काठमाडौंमा भइरहेको जनाइएको छ ।