समाचार

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत नाघ्यो

१६ माघ, काठमाडौं । काठमाडौंलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाल सरकारबाट प्राप्त २०८३ चैत मसान्तसम्मको समयसीमाभित्र आयोजना सम्पन्न गर्नेगरी काम भइरहेको छ। उनले हालसम्म आयोजनाको भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको जानकारी दिए।

फास्ट ट्र्याकअन्तर्गत कुल १०.९७९ किलोमिटर सुरुङ मार्ग निर्माण गर्नुपर्नेमा लेन डाँडाको १.६२६ किलोमिटर र धेद्रे सुरुङको १.६९१ किलोमिटरमा ब्रेकथ्रु भइसकेको छ। महादेवटार सुरुङमार्गको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ।

यस आयोजनाअन्तर्गत निर्माण हुने ८९ वटा पुलमध्ये १३ वटा पुलको निर्माण सकिएको छ भने ८५ वटा पुलको ठेक्का लागेर निर्माण कार्य अघि बढिसकेको छ।

निर्माणका क्रममा करिब ५४ हजार रुख कटान गर्नुपरेको भए पनि त्यसको क्षतिपूर्तिस्वरूप हालसम्म ७ लाख ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ। तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको प्रवक्ता बस्नेतले बताए।

यसैबीच, खोकना क्षेत्रमा देखिएको विवाद भने अझै समाधान हुन सकेको छैन। सबै सम्बन्धित निकायको समन्वयमा समस्या समाधानका लागि प्रयास जारी रहेको नेपाली सेनाले जनाएको छ।