समाचार

नेताहरूसँग निरन्तर संवादमा कांग्रेस सभापति गगन थापा

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको स्पष्ट गर्दै कांग्रेस एकताबद्ध भएर निर्वाचनमा गएको बताएका छन्।

धनुषा–४ मा कांग्रेस उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र अहिले कुनै किसिमको रिसराग वा दोषारोपण नरहेको बताए। अधिवेशनपछि नयाँ नेतृत्व आएको उल्लेख गर्दै उनले नेताहरूबीच सामान्य मतभेद भए पनि अन्ततः सबै एक ढिक्का हुने परम्परा कांग्रेसमा रहेको बताए।

‘हामीले भर्खरै अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व पाएका छौँ। पार्टीभित्र कसैप्रति गुनासो छैन,’ थापाले भने, ‘म निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु। अरु नेताहरूसँग पनि संवाद भइरहेको छ। केही विषयमा फरक धारणा हुन सक्छ, तर अहिले कांग्रेस एक ढिक्का छ।’

सभापति थापाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन देश सञ्चालनको शैलीविरुद्ध भएको प्रतिक्रिया स्वरूप आएको बताए। उक्त आन्दोलनपछि कांग्रेसले आत्मसमीक्षा गर्दै आफूलाई बदलेर, सोच परिवर्तन गरेर अघि बढेको उनको दाबी छ।

‘फागुन २१ को निर्वाचन अकस्मात् भएको हो। त्यसअघि भएका घटनाहरू पनि योजनाबद्ध थिएनन्,’ उनले भने, ‘देश चलाउने पद्धति परिवर्तन गर्नुपर्छ भन्ने सन्देश ती आन्दोलनले दिएका थिए। अरु पार्टी बदलिए कि बदलिएनन् थाहा भएन, तर कांग्रेस भने बदलिएर आएको छ।’

उनका अनुसार अहिलेको नेपाली कांग्रेस माघमा अधिवेशन गरेर आएको नयाँ सोच र नयाँ प्रतिबद्धतासहितको कांग्रेस हो, जसले एकताका साथ निर्वाचनमा सहभागिता जनाइरहेको छ।