१६ माघ, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोग ९नेग्लेक्टेड ट्रपिकल डिजिज–एनटीडी० चुनौतीका रूपमा देखा पर्दै गएको छ । पर्याप्त सरसफाइको अभाव, रोगबाहक कीटाणु, जनावरसँगको प्रत्यक्ष सम्पर्क र गरिबीका कारण यी रोगको संक्रमण प्रदेशका विभिन्न जिल्लामा बढ्दो क्रममा रहेको छ ।
उपेक्षित उष्णप्रदेशीय रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी तथा विषाक्त पदार्थका कारण लाग्ने गर्दछ । विश्वमा व्याप्त २१ प्रकारका रोगको समूहलाई उपेक्षित उष्णप्रदेशीय रोगको श्रेणीमा राखिएको छ । तीमध्ये नेपालमा हाल ११ प्रकारका रोग देखापर्ने गरेका छन् । त्यसमा डेंगु, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुकाको संक्रमण, सर्पदंश, लुतो, हात्तीपाइले, फित्तेजुका, कालाजार, माइसेटोमा, क्रोमाब्लास्टोमाइकोसिस तथा अन्य डिप माइकोसेस समावेश छन् । प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका उपेक्षित उष्णप्रदेशीय रोग स्रोत व्यक्ति हेमराज जोशीका अनुसार यी रोगले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी व्यक्तिलाई असर गरिरहेको तथ्यांक छ । “सुदूरपश्चिम प्रदेशमा पनि यी रोगको संक्रमण क्रमशः बढ्दै गएको छ”, उनले भने, “मुख्यतः सरसफाइको कमी, रोगबाहक कीटाणु, घरपालुवा जनावर तथा पशुसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बढी जोखिममा पर्ने गरेका छन् ।” उनका अनुसार गरिबीको रेखामुनि रहेका समुदाय यी रोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन् । रोगका कारण उहाँहरू थप आर्थिक संकटमा पर्ने र गरिबीको चक्रमा फस्ने अवस्था सिर्जना भइरहेको छ । साथै यी रोग अझै पनि समुदायमा सामाजिक बहिष्करणसँग जोडिने गरेको पाइएको उनको भनाइ छ । प्रदेशमा सर्पदंशका घटना पनि उल्लेख्य रूपमा देखिएका छन् । आर्थिक वर्ष २०८०र८१ मा सुदूरपश्चिममा ५१२ जनामा सर्पदंश देखिएकामा ९१ जनालाई विषालु सर्पले टोकेको थियो । आर्थिक वर्ष २०८१र८२ मा सर्पदंशका घटना बढेर ८२७ पुगेका थिए । त्यसमध्ये ४६ जनालाई विषालु सर्पले डसेको थियो । चालु आर्थिक वर्ष २०८२र८३ मा हालसम्म ५८७ जनामा सर्पदंश देखिएकामा १७ जनालाई विषालु सर्पले टोकेको तथ्यांक छ । यसैगरी जनावरको टोकाइबाट हुने संक्रमण पनि चुनौती बनेको छ । प्रदेशमा आर्थिक वर्ष २०८०र८१ मा चार हजार ६४८ जनालाई जनावरले टोकेको थियो भने २०८१र८२ मा यो संख्या बढेर ११ हजार ५७२ पुगेको थियो । चालु आर्थिक वर्षमा हालसम्म पाँच हजार ५५३ जना जनावरको टोकाइबाट प्रभावित भएका छन् । कुकुरको टोकाइका घटना झन् बढी देखिएका छन् । आर्थिक वर्ष २०८०र८१ मा कुकुरको टोकाइबाट नौ हजार ९८१ जना पीडित भएका थिए । आव २०८१र८२ मा यो संख्या बढेर १५ हजार २१२ पुगेको छ । चालु आर्थिक वर्षमा हालसम्म आठ हजार २९६ जना कुकुरको टोकाइबाट प्रभावित भएका छन् । जोशीका अनुसार डेंगु संक्रमण पनि सुदूरपश्चिममा जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ । आर्थिक वर्ष २०८०र८१ मा तीन हजार ३४९, २०८१र८२ मा तीन हजार ३१६ जना तथा चालु आर्थिक वर्षमा हालसम्म एक हजार १८ जना डेंगुबाट प्रभावित भएका छन् । फोकल पर्सन जोशीका अनुसार यी रोगहरू विश्वव्यापी स्वास्थ्य एजेण्डामा सीमित रूपमा मात्रै समेटिने, अध्ययन–अनुसन्धान न्यून हुने तथा स्रोतसाधनको अभाव रहने भएकाले ‘उपेक्षित’ श्रेणीमा परेका हुन् । “केही रोग जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएका छन् भने केही निवारण, रोकथाम तथा नियन्त्रणको रणनीतिमा छन्”, उनले भने । नेपालले सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रिय स्तरबाट जनस्वास्थ्य समस्याका रूपमा निवारण गरेको घोषणा गरेको थियो भने ट्रकोमालाई सन् २०१८ मा निवारण गरेको छ । कालाजारलाई सन् २०२६ भित्र तथा हात्तीपाइले र रेबिजलाई सन् २०३० भित्र नियन्त्रण गर्ने लक्ष्य लिइएको छ । हालको तथ्यांकअनुसार कालाजारका बिरामी पछिल्ला दुई दशकमा करिब ९० प्रतिशतले घटेका छन् । यद्यपि नयाँ क्षेत्रबाट कालाजारका ‘केस’ देखिन थालेकाले प्राप्त उपलब्धिको दीगोपनामा चुनौती थपिएको छ । कालिकोटमा कालाजारको दर उच्च रहेको छ भने पाल्पा, कैलाली, मकवानपुर, बाँके, दैलेख, बर्दिया र प्युठानमा पनि बिरामीको संख्या उल्लेख्य छ । कुष्ठरोगको अवस्था हेर्दा आर्थिक वर्ष २०८१र८२ मा राष्ट्रिय स्तरमा ‘प्रिभ्यालेन्स’ दर प्रति १० हजार जनसंख्यामा शून्य दशमलव ८८ रहेको छ । सो अवधिमा दुई हजार ४०९ नयाँ कुष्ठरोगका बिरामी पहिचान भएका छन् । सोह« जिल्लामा अझै पनि कुष्ठरोगका केस निवारणको सीमाभन्दा माथि रहेको तथ्यांकले देखाएको छ । हात्तीपाइलेका ६४ एन्डेमिक जिल्लामध्ये ५७ जिल्लामा आम औषधि सेवन कार्यक्रम सम्पन्न भई संक्रमण प्रसारसम्बन्धी अध्ययनपछि कार्यक्रम बन्द गरिएको छ । हालसम्म चार लाख ४७ हजार ८८६ जनामा हात्तीपाइलेका कारण शारीरिक समस्या ९हाइड्रोसिल तथा खुट्टामा समस्या० देखिएको तथ्यांक छ । डेंगु नियन्त्रणका लागि शहरी तथा अर्धशहरी क्षेत्रमा एडिस प्रजातिका लामखुट्टेको प्रजनन रोक्न बहुक्षेत्रीय सहकार्य सुरु गरिएको भए पनि सबै क्षेत्रबाट प्रभावकारी सहभागिता सुनिश्चित गर्न अझै चुनौती रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्रबहादुर बमं बताउछन् । यसैबीच विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस प्रत्येक वर्ष जनवरी ३० मा मनाइँदै आएको छ । सन् २०२१ मे ३१ मा विश्व स्वास्थ्य सम्मेलनले उक्त दिवसलाई औपचारिक मान्यता दिएको हो । यस अवसरमा आज सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नारासहित जनचेतना जगाउनका लागि सरोकारवालाहरुका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम आयोजना गरेको छ ।





