१७ माघ, काठमाडौं । लगातार नयाँ रेकर्ड बनाउँदै उकालो लागेको सुनको मूल्य शुक्रबार एकाएक ओरालो लागेको छ। नेपाली बजारमा बिहीबार तोलामा २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन शुक्रबार भने उही मात्राले घट्दै तीन लाख १८ हजार ८ सय रुपैयाँमा झरेको हो।
सुनचाँदीको मूल्यमा हुने उतारचढाव नेपाली बजारको मात्र प्रभावले होइन, अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म प्रतिऔँस सुनको मूल्य पाँच हजार ६ सय अमेरिकी डलरसम्म पुगेको थियो। तर शुक्रबार यो घटेर चार हजार ८९५ डलरसम्म झरेपछि विश्व बजारमै चासो र चिन्ता बढेको देखिएको छ।
विश्लेषकहरूका अनुसार अमेरिकी डलर बलियो बन्दै जाँदा सुनको मूल्यमा दबाब परेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भको प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि फेडको राजनीतिक स्वतन्त्रतासम्बन्धी चिन्ता कम भएको र यसले डलरलाई मजबुत बनाएको उनीहरूको विश्लेषण छ।
यसअघि ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि एक वर्षमा डलर सूचकांक करिब १० प्रतिशतले घटेको थियो। सोही अवधिमा भूराजनीतिक तनाव, आर्थिक अनिश्चितता र जोखिमका कारण लगानीकर्ताहरू डलरबाट टाढिँदै सुनतर्फ आकर्षित भएका थिए। सुरक्षित लगानीको रूपमा हेरिने सुनको मूल्य पछिल्लो १२ महिनामा झण्डै ९० प्रतिशतले बढेको थियो।
तर फेड नेतृत्वमा नयाँ मनोनयनसँगै शुक्रबार एकैदिन डलर सूचकांक ०.९ प्रतिशतले बढेपछि लगानीकर्ताको ध्यान पुनः डलरतर्फ फर्किन थालेको विश्लेषकहरूले बताएका छन्। डलर बलियो बन्दै जाँदा सुनको मूल्यमा दबाब पर्ने देखिएको छ।
विश्लेषकहरूको अनुमान अनुसार निकट भविष्यमा सुनको मूल्यमा अझै उतारचढाव देखिन सक्छ। सन् २०२६ को अन्त्यसम्म केही वैश्विक आर्थिक तथा भूराजनीतिक जोखिमहरू कम हुनसक्ने संकेत देखिएकाले त्यसले सुनको मूल्यमा थप गिरावट ल्याउन सक्ने सम्भावना पनि औँल्याइएको छ।





