समाचार

उम्मेदवारको सामाजिक सञ्जाल खर्च पनि निर्वाचन आयोगको निगरानीमा

२२ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमार्फत गरेको प्रचार–प्रसारको खर्च पनि निर्वाचन आयोगले निगरानी गर्ने भएको छ । आयोगले उम्मेदवारको निर्वाचन खर्चको विवरणमा सामाजिक सञ्जालमा भएको खर्चसमेत समावेश गरेर अनुगमन गर्ने जनाएको हो ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिले सामाजिक सञ्जालमा कसले, कति खर्च गर्‍यो भन्ने कुरा प्राविधिक रूपमा सजिलै पत्ता लगाउन सकिने अवस्था छ । सामाजिक सञ्जालमा गरिएको खर्च तोकिएको निर्वाचन खर्चको सीमाभित्र रहे–नरहेको आयोगले हेर्ने उनले बताए ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको खर्च सीमा निर्वाचन क्षेत्रअनुसार फरक–फरक तोकिएको छ । आयोगले सुगम र दुर्गम जिल्लाका आधारमा खर्च सीमा निर्धारण गरेको हो ।

काठमाडौंका पाँच निर्वाचन क्षेत्र—१, ३, ६, ७ र ८—का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । त्यस्तै, १७ निर्वाचन क्षेत्रका उम्मेदवारका लागि २७ लाख, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारका लागि २९ लाख खर्च सीमा तोकिएको छ ।

यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख र २६ निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।