२५ माघ, काठमाडौं । नेपालमा जलपन्छीको संख्यामा उल्लेख्य गिरावट आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरवर्ल्ड सेन्सस २०२६’ को नतिजाअनुसार अघिल्लो वर्षको तुलनामा देशभर जलपन्छीको संख्या ६ हजारभन्दा बढीले घटेको छ ।
३ देखि १८ जनवरी २०२६ सम्म देशका १८ सिमसार क्षेत्र तथा तिनअन्तर्गतका ७८ साना क्षेत्रमा गरिएको गणनाबाट यस वर्ष ८९ प्रजातिका ९० हजार ६ सय ८८ जलपन्छी रहेको पाइएको छ । सन् २०२५ मा भने ९४ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणनामा परेका थिए ।
विभागका वरिष्ठ इकालोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार अधिकांश सिमसार क्षेत्रमा जलपन्छीको संख्या घट्दो क्रममा देखिए पनि केही स्थानमा भने संख्या बढेको छ ।
काठमाडौं उपत्यकाभित्र टौदह र बागमती नदी क्षेत्रमा जलपन्छी घटेका छन् । यस वर्ष यहाँ १६ प्रजातिका १ सय ६४ जलपन्छी मात्रै भेटिएका छन्, जबकि गत वर्ष १८ प्रजातिका २ सय ४ पन्छी गणना गरिएको थियो ।
तर मनोहराफाँटमा भने वृद्धि देखिएको छ, जहाँ १४ प्रजातिका ३ सय ७९ जलपन्छी भेटिएका छन् ।
पोखरा उपत्यकाका सिमसारमा यस वर्ष ४६ प्रजातिका ३ हजार ७ सय ६४ जलपन्छी गणनामा परेका छन्, जुन अघिल्लो वर्षको तुलनामा बढी हो ।
यता रारातालमा भने १३ प्रजातिका २ सय ५३ पन्छी मात्रै भेटिएका छन्, जुन गत वर्षभन्दा कम हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७० प्रजातिका २२ हजार ८ सय १७ जलपन्छी भेटिएका छन् । त्यहाँ संख्या बढेको छ । पुरैनी र बन्धाताल, नाखोडी ताल (कैलाली) तथा राप्ती नदी आसपासका क्षेत्रमा पनि जलपन्छी संख्या वृद्धि भएको विभागले जनाएको छ ।
तर घोडाघोडी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, जगदीशपुर जलाशय, चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षलगायत क्षेत्रमा जलपन्छीको संख्या घट्दो क्रममा देखिएको छ ।
विभागका अनुसार हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणना हुँदै आएको छ । बसाइँसराइ गर्ने तथा पानीमा बस्ने चराको प्रजनन नहुने समयलाई लक्षित गरी गरिने यो गणनाले सिमसार क्षेत्रको अवस्था बुझ्न, संरक्षणको आवश्यकता पहिचान गर्न र आम नागरिकमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।





