समाचार

मेघालय कोइलाखानी दुर्घटनामा चार नेपालीको मृत्यु, दर्जनौं फसेको आशंका

खोटाङ, २७ माघ । भारतको मेघालय राज्यस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परी ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो ।

माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा डाइनामाइट विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको थियो । पूर्णबहादुर र सुरेन्द्र एकै घरका दाजुभाइ हुन् ।

विष्फोटपछि बेपत्ता भएका रत्न राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ । जीउडालको आधारमा उनको पहिचान गरिएको बताइएको छ । रत्नको मृत्युको खबर आएपछि घरमा काजकिरिया सुरु गरिएको स्थानीय युवा नेत्रविक्रम राउतले जानकारी दिए । उनका अनुसार मृतकका छोराहरू माघ २५ गतेदेखि नै किरियामा बसेका छन् ।

रोजगारीका लागि रत्न राई गत असोज ९ गते मेघालय गएका थिए । सँगै काम गर्ने आफन्तका अनुसार रत्नका नागरिकता, डायरी र मोबाइल कोठामै फेला परेका छन् ।

विष्फोटमा परी पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै तथा नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो । तीनै जनाको शव सिलाङको झालुपारामा माघ २६ गते दाहसंस्कार गरिएको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए । उनले शव नेपाल ल्याउन नेपाल सरकारबाट कुनै सहयोग नपाएको गुनासो पनि गरे ।

यसै घटनामा बराहपोखरी सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन् । उनीहरू गत पुस ३ गते रोजगारीको खोजीमा मेघालय गएका थिए ।

स्थानीय स्रोतका अनुसार विष्फोटपछि दर्जनौं कामदार अझै पनि कोइलाखानीमै फसेको आशंका गरिएको छ ।