२७ माघ, काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाका अनुसार घटनास्थलमा थप ३ वटा शव फेला परेपछि मृतक संख्या ९ पुगेको हो।
सीडीओ थापाले जानकारी दिएअनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ भने ३ जनाको शव घटनास्थलमै भेटिएको हो। दुर्घटनामा परेर घाइते भएकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ।
काठमाडौंको जडीबुटीबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। सडकबाट खसेको बस नदीमा डुबेको अवस्थामा रहेको छ।
अरनिको यातायात समितिका अनुसार बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोबाट अन्य यात्रु चढे–नचढेकोबारे भने यकिन हुन सकेको छैन।
सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलमा खोजी कार्यलाई निरन्तरता दिइरहेको सीडीओ थापाले बताए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





