समाचार

चलचित्र पर्यटन प्रवद्र्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

काठमाडौँ, २८ माघ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चारबुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा एनटीबीका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र एफडीबीका अध्यक्ष दिनेश डिसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नेपालले सन् २०२६ मा फ्रान्समा आयोजना हुने कान्स फिल्म फेस्टिभलमा आधिकारिक सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले चलचित्र र पर्यटनको सहकार्य दीर्घकालीन यात्राको सुरुआत भएको बताउँदै चलचित्र छायांकन भएका स्थानहरू स्वाभाविक रूपमा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने उल्लेख गरे । उनले नेपाललाई पर्यटनप्रधान देश बनाउने लक्ष्यसहित दुवै निकाय सहकार्य गरेर अघि बढ्ने बताए ।

त्यसैगरी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाललाई ‘ल्याण्ड अफ मेमोरेबल स्टोरिज्’का रूपमा चिनाउने उद्देश्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । चलचित्र छायांकनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण तथा सहजीकरणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।

समझदारीपत्रमा चलचित्रबाट प्रेरित यात्रा (सेट–जेटिङ) लाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी र बजारमा संयुक्त प्रवर्द्धन गर्ने, नेपाललाई श्रव्य–दृश्य सामग्री उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा आवश्यक पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समावेश छन् ।

नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठराज पराजुलीले यो सहकार्यले नेपाललाई क्षेत्रीय र विश्व पर्यटन नक्सामा अझ सशक्त रूपमा स्थापित गर्न मद्दत गर्ने धारणा राखे ।

विश्वभर चलचित्र पर्यटनले तीव्र गति लिइरहेको सन्दर्भमा नेपालले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई पर्दामार्फत विश्वसामु प्रस्तुत गर्दै पर्यटक आगमन वृद्धि गर्ने लक्ष्य लिएको छ ।