पर्यटन/संस्कृति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा एक महिनाका लागि निषेधाज्ञा लागू

२९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) परिसरभित्र निषेधाज्ञा लागू गरेको छ । विमानस्थल र आसपासका क्षेत्रमा फागुन १ गतेदेखि प्रदर्शन गर्ने घोषणा गर्दै केही समूह तथा राजनीतिक दलहरूले विज्ञप्ति जारी गरेपछि प्रशासनले सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासनका अनुसार बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत सम्पूर्ण विमानस्थल हाताभित्र निषेधाज्ञा लागू हुने उल्लेख गरिएको छ ।

आदेशमा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भेला र प्रदर्शन हुँदा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ ।

यद्यपि, निषेधाज्ञा लागू गरिएका क्षेत्र बाहेकका स्थानमा संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला भई विरोध गर्ने नागरिकको हक सुरक्षित रहेको प्रति स्थानीय प्रशासन प्रतिबद्ध रहेको पनि आदेशमा स्पष्ट गरिएको छ ।

साथै, पूर्वजानकारीसहित आयोजना गरिएका विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्तिको रकम असुल गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।