२ फागुन, काठमाडौं। ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेपछि दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतकमध्ये चालक गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापा छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटनामा घाइते भएका करिब ४० र ५० वर्ष उमेरका दुई जना पुरुषलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। तर, चिकित्सकले उपचारका क्रममा दुवैलाई मृत घोषणा गरेका छन्। ती दुई जनाको हालसम्म सनाखत हुन सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुर ले जनाएको छ।





