३ फागुन, रौतहट । रौतहटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिकै दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बिहान करिब साढे पाँच बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (BR30U1371) को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दै सिसौको रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए । टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा फेला परेका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो ।
तर, उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका विष्णु प्रदीप बस्यालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





