५ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा यस वर्षको महाशिवरात्रि पर्व सम्पन्न भए पनि मेलापछिको फोहोर व्यवस्थापनमा ढिलाइ हुँदा क्षेत्र अव्यवस्थित बनेको छ। महाशिवरात्रिको अवसरमा दर्शन गर्न आएका नागा बाबा तथा अन्य साधुसन्तलाई दान–दक्षिणासहित बिदाइ गर्ने क्रम जारी रहँदा मन्दिर परिसर र वरपरका क्षेत्रमा भने फोहोरको डंगुर देखिएको छ।
मेलापछि पशुपति क्षेत्र फूलप्रसाद, प्लास्टिक र अन्य फोहोरले भरिएको छ। करोडौंको सम्पत्ति रहेको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा मेला सकिएलगत्तै फोहोर थुप्रिनु लाजमर्दो विषय भएको स्थानीयवासी तथा कोषका पूर्वसदस्य गोपालप्रसाद सुवेदीले बताए। उनका अनुसार समयमै प्रभावकारी व्यवस्थापन भएको भए यस्तो अवस्था आउने थिएन।
शिवरात्रिपछि दर्शनका लागि आउने भक्तजनले दुर्गन्धका कारण नाक थुनेर मन्दिर प्रवेश गर्नुपर्ने अवस्था रहेको कीर्तिपुरबाट आएकी लक्ष्मी शर्मा दाहालले गुनासो गरिन्। हजारौं कर्मचारी रहेको कोषले तत्काल फोहोर व्यवस्थापन गर्न नसक्नु दुखद विषय भएको भक्तजनको भनाइ छ।
कोषका सदस्य सचिव डा. टण्डनले भने लाखौं भक्तजनको उपस्थितिका कारण फोहोर बढेको स्वीकार गर्दै सफाइ अभियान सुरु भइसकेको र बिहीबारसम्म पूर्ण रूपमा सफाइ सम्पन्न हुने जानकारी दिए।
हरेक वर्ष महाशिवरात्रि का अवसरमा पशुपतिमा भव्य मेला लाग्ने गर्दछ। तर, मेलापछिको फोहोर व्यवस्थापनमा हुने ढिलाइले भक्तजन र स्थानीय बासिन्दा दुवैलाई प्रभावित पार्दै आएको छ।





