बाग्मती

बनेपामा टिपर–स्कुटर दुर्घटनापछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

६ फागुन, काभ्रे । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी राजमार्ग खुलाइएको हो ।

बनेपाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको दुर्घटनामा धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको बताइएको छ । घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित प्रदर्शनकारीले ठक्कर दिने टिपरमा आगजनीसमेत गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।

हाल सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिई राजमार्ग सञ्चालनमा ल्याएका छन् ।