सर्लाही, ७ फागुन । सर्लाहीको मलंगवामा आज दिउँसो पेस्तोल पड्किँदा १५ वर्षीय आकाश राम घाइते भएका छन्। मलंगवा नगरपालिका–४, ढाँका बोर्डर टोलमा भएको घटनामा आकाशको दाहिने हातको पन्जा घाइते भएको छ।
प्रहरीका अनुसार, आकाशले घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको पेस्तोल फेला पारेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको थियो। उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ। पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा फेला परेको छ र प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।





